सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), २४ साउन ।
नजिकिंदै गरेको नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर नेपाल मगर संघ इकाई कमिटी चन्द्रौटाले शनिबार दरखाने र मनोरञ्जनात्मक कार्यक्रम गरेको छ ।
मगर जातिको परम्परागत कला, संस्कृति, भेषभुषा र जातीय पहिचानलाई उजागार गर्न कार्यक्रमको आयोजना गरिएको इकाई कमिटीका अध्यक्ष केश बहादुर सिंजाली मगरले बताउनुभयो । शिवराज नगरपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण मगर समुदायबीच आपसी सम्बन्ध प्रगाढ बनाउन तीजको दर खाने बहानामा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरिएको अध्यक्ष सिंजालीले बताउनुभयो ।
चन्द्रौटास्थित दूर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा जातीय संस्कार अनुसारको भेषभुषा र पहिरनमा सजिएर महिला, पुरुष सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै मगर महिला संघकी अध्यक्ष धनिसरा बैजालीले मगर समुदायको परम्परागत भेषभुषा, कला संस्कृति र जातीय पहिचान जोगाउन सम्पूर्ण मगर समुदाय संगठित हुनुपर्ने बताउनुभयो । साथै उहाँले मगर समुदायका महिलाहरु हरेक क्षेत्रमा पछाडि परेको औल्याउँदै सम्पूर्ण मगर महिलाहरु एकजुट हुन आग्रह गर्नुभयो । कार्यक्रममा यज्ञ प्रसाद सारु, लालबहादुर थापा लगायतले मगर संघको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्र नेपाल मगर संघ इकाई कमिटीका अध्यक्ष केशबहादुर सिंजालीको अध्यक्षता, ओमबहादुर सिंजालीको स्वागत र खिमबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो । उद्घाटन सत्रपछि दर खाँदै त्यहाँ भेला भएका मगर समुदायका महिला, पुरुष, केटाकेटीहरु तीजको गीतमा रमाउँदै नृत्य प्रदर्शन गरेका थिए ।
No comments:
Post a Comment