Thursday, June 4, 2015

नेपाली युवाले गरेको स्वयंसेवा सम्भवतः विश्वकै इतिहासमा सबैभन्दा ठूलो

प्रकाशित मिति: June 04, 2015
महाभूकम्पले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको छ । मानिसहरूमा त्रास सिर्जना गरेको छ । र, केही अन्योलता पनि छाएको छ । विज्ञले भन्दै आएका पनि थिए— हाम्रो देश भूकम्पीय जोखिममा छ, जुनसुकै भूकम्प आउँछ र ठूलो क्षति गर्न सक्छ । तर, हामीले विज्ञका कुरा सुनेर सतर्कता अपनाएका थिएनौँ । त्यसैले अहिले ठूलो क्षति व्यहोर्यौँ । यो जनधनको क्षति एकातिर छ, सँगसँगै यसले पुनर्निर्माणको अवसर पनि दिएको छ ।

भूकम्पपश्चात कैयाँै सकारात्मक र आशाका सम्भावना देखिएका छन् । जस्तो, विपतमा ठूलो संख्यामा रहेको नेपाल आर्मी र प्रहरीले जुन किसिमको भूमिका निर्वाह गरे, त्यो सराहनीय प्रशंसनीय देखियो । त्यस्तै, युवामा पनि एक किसिमको सहयोगी र राष्ट्रिय भावना देखियो ।
अझ नेपाली युवाले गरेको स्वयंसेवा सम्भवतः विश्वकै इतिहासमा सबैभन्दा ठूलो संख्याको सेवा हो । युवाहरूको सक्रियता देख्दा नेपाली युवा निकै सक्षम छन् भन्ने प्रमाणित भएको छ । यो भूकम्पले मुलुकलाई एकताबद्ध गराएको छ । अरुबेला फरक–फरक बाटोमा हिँड्ने राजनीतिक दलका कार्यकर्ताहरू समेत योबेला सहकार्य गरिरहेका छन् । उनीहरू राजनीतिक दायराभन्दा बाहिर आएर नेपाली भएर काम गरिरहेका छन् । त्यस्तै, अर्काे सकारात्मक कुरा ६ वर्षसम्म पनि आउन नसकेको संविधान छिटै आउने सम्भावना देखिएको छ । राष्ट्रिय एकताको कुरा भइरहेको छ । यी सबै भूकम्पपश्चात भइरहेका छन् । यसले कैयौँ आशा र सम्भावना देखाएका छन् ।

यतिखेर भूकम्प आएर क्षति पुगेको अवस्था छ । यसले पुनर्निर्माणको चुनौती र अवसर दिएको छ । उही चुनौतीलाई स्वीकार गरेर नयाँ निर्माण गर्नु र आर्थिक गतिविधि बढाउनुको विकल्प हामीसँग छैन ।
यो भत्केको संरचनाको पुनर्निर्माण त गर्नु छँदै छ । देश भूकम्पीय जोखिममा भएकाले अब देशैभरि भूकम्प प्रतिरोधात्मक संरचना बनाउन हामी लाग्नुपर्छ । यस्ता भूकम्प चिली, जापानमा आइरहन्छन् । तर, उनीहरूले भूकम्पले छुन नसक्ने संरचना बनाएका छन् । त्यसैले त्यहाँ भूकम्पले खासै क्षति पुर्याउँदैन ।
यो हाम्रोमा पनि सम्भव छ । अब हामी आत्तिएर होइन, योजनाबद्ध किसिमले पुनर्निर्माणमा लाग्नुपर्छ । भूकम्प प्रतिरोधात्मक घर–संरचना बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । ताकि अहिलेको पुनर्निर्माणसँगै सम्भावित क्षतिलाई कम गर्न सकिओस् ।
अब हामीले मापदण्डसहितका घर–भवन बनाउनुपर्छ । भवन संहिता बनाएर त्यसलाई लागू गर्नपर्छ । अब हामीले देशैभरि भौगर्भिक अध्ययन गरेर मात्रै घर, बस्ती, सहर आदिको विकास गर्नुपर्छ । यसो हुन सक्यो भने, हामीलाई भूकम्पसँगै अन्य विपत्तिले धेरै असर गर्न सक्दैन । पर्यटकहरू पनि ढुक्कसँग आउँछन् ।
कहाँ उद्योग खोल्ने ? कहाँ हाउजिङ बनाउने ? कहाँ बस्ती राख्ने ? कहाँ सहर विकास गर्ने ? गहिरो भौगर्भिक अध्ययन हुनुपर्छ । त्यसपछि विकास निर्माणबारे कडा नीति–नियम बनाएर कार्यान्वयन गर्नैपर्छ । हाम्रोमा पहिले पनि भवन संहिता थियो । तर, कार्यान्वयनमा आउन सकेको थिएन ।
अब हामीले कानुन निर्माण गरेर मात्रै पुनर्निर्माणको काम सुरु गर्नुपर्छ । यसो भयो भने मात्रै हाम्रो भविष्य सुरक्षित छ ।
आर्थिक गतिविधि बढाउने अवसर
तत्कालका लागि त सरकारले घर बनाइदेला, खाद्यान्न राहत पनि देला, तर केही समयपछि भोकै मर्ने अवस्था सिर्जना भयो भने के गर्ने ? त्यसका लागि त आर्थिक गतिविधि बढाउनैपर्छ । उत्पादनमूलक कार्यमा लाग्नुपर्यो ।
त्यसैले पुनर्निर्माणसँगै कसरी आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने ? यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।
व्यापारिक गतिविधि सक्रिय नभएसम्म देशको अर्थतन्त्र उक्सँदैन । त्यसकारण, आर्थिक क्रियाकलाप बढाउने दिशामा जानुपर्छ ।
अब पुनर्निर्माणको कुरा छ । सरकारले भनिरहेको छ, हामीलाई मात्र पुनर्निर्माण गर्न देऊ । तर, यो सम्भव छैन । निजी क्षेत्र एउटा मुख्य साझेदार भएका हिसाबले निजी क्षेत्रलाई पनि सरकारले सँगै लैजानुपर्छ । अहिले भत्केकाको पुनर्निर्माणमा कम्तीमा पनि पाँच खर्ब लाग्ने कुरा आइरहेको छ ।

No comments:

Post a Comment