Tuesday, September 29, 2015

कायरहरुको पछि लागेर मुलुक अग्रगमनतिर जाँदैन– लालबाबु पण्डित


काठमाडौं, असोज ११ 

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले १५ दिन नेपालको भ्रमण गर्न आउनेलाई बंशजको आधारमा नागरिकता दिने मागसहित बन्द, हडताल गर्ने नेताहरुलाई कायरको संज्ञा दिएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले आफ्नो व्यक्तिगत स्वार्थका लागि छिमेकीको सीमानामा बसी नेपाली जनतामाथि ढुंगा बर्साउने, दैनिक जीवनमा असर पर्ने गरी नाकाबन्दी गर्ने नेताहरुलाई कायरको संज्ञा दिएका हुन्।
 
मन्त्री पण्डितले भने, ‘कायरहरुका कारण नेपाल स्वतन्त्र मुलुक भएको होईन, सार्वभौमसत्ता सम्पन्न भएको होईन, कायरहरु भाग्छन् भने केही फरक पर्दैन सार्वभौम सम्पन्न मुलुकलाई स्वार्थमा विखण्डन गर्ने तत्वहरुको काम छैन।' 
 
अहिलेको संविधानले गलत सोच राख्नेको गालामा झापड हानेको दावी गर्दै मन्त्री पण्डितले भने,‘आफ्नै घरमा आगो लगायो भने भाँडा माझ्ने खरानीको कमी हुँदैन, जसले जसरी यो मुलुकलाई आगो लगाउन काम गरेको छ त्यो राष्ट्रघाती छ, म नेपालको भौगोलिक खण्डता, स्वतन्त्रताको लागि ज्यान दिन तयार छु। 
 
उनले थपे,‘इतिहासलाई हामीले हेर्यौ भने हाम्रा अग्रज वीर योद्धाहरुले पिएच डि पास गरेका थिएनन्, आफ्नो मुलुकको रक्षा गर्न प्राणको बाजी लगाएका थिए। कायरहरु अहिले पनि डराउँछन र नेपालभूमि र नेपाली जनताको भविष्यमा खेलवाड गर्ने कायरहरुको अस्तित्व समाप्त हुन्छ।'  
 

उनले ९० प्रतिशत सभासदहरु मिलेर नेपालको नयाँ संविधान बनाएकोले यसमा प्रजातान्त्रिक मुलुक छिमेकी भारले प्रश्न उठाउन नहुने बताए। 

No comments:

Post a Comment